प्रभु बैंकको केन्द्रीय कार्यालयमा राष्ट्र बैंक र सीआईबीको संयुक्त छापा
काठमाडौं । राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा संयुक्त रूपमा छापा मारेका छन्। शुक्रबार साँझ राष्ट्र बैंकका प्रतिनिधि र सीआईबीको टोलीले बिजुलीबजारस्थित बैंकको मुख्य कार्यालयमा प्रवेश गरी छानबिन गरेको हो।
आर्थिक अनियमिततासँग सम्बन्धित घटनामा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि थप प्रमाण संकलनका लागि छापा मारिएको सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार, केही महत्वपूर्ण कागजात र फाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
राष्ट्र बैंकको सहकार्यमा भइरहेको यो छानबिन प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दायर गरेको उजुरीसँग सम्बन्धित रहेको बताइएको छ। उनले झण्डै ९८ करोड रुपैयाँ ठगी भएको दाबी गर्दै उजुरी दर्ता गरेकी थिइन्। सोही प्रकरणमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए।
गत वर्ष सरकारी वकिल कार्यालयले यस मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरलाई निर्देशन दिए पनि विशेष प्रगति नभएपछि सीआईबीले प्रत्यक्ष रूपमा कदम चालेको हो।
तपाईको प्रतिक्रिया