ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, १९ सामाजिक कार्यक्रम घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशभर १९ वटा सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राख्दै दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
यसअन्तर्गत ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ मार्फत सातै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। साथै, सात स्थानमा आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गरिनेछ भने १ हजार ५०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिनेछ।
बैंकले जटिल तथा दीर्घ रोगका बिरामीलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। शिक्षा क्षेत्रमा छात्रवृत्ति कार्यक्रम, दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, शैक्षिक सामग्री वितरण तथा उच्च शिक्षा अध्ययनरत विद्यार्थीको शोध–अनुसन्धानका लागि सहयोग गरिनेछ।
वातावरण संरक्षणतर्फ वृक्षारोपण, प्लास्टिक विस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ। साथै, रक्तदान, बालगृह तथा आश्रम सहयोग, अटिजम सचेतना कार्यक्रम, खेलकुद सामग्री वितरण, उद्यमशाला कार्यक्रम तथा वित्तीय साक्षरता अभियान पनि सञ्चालन गरिने बैंकले जनाएको छ।
बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै यी कार्यक्रमले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने र दीर्घकालीन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया