ग्यास पाइँदैन भन्ने हल्ला मात्रै, आपूर्ति पर्याप्त छ : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा ग्यास उद्योगलाई सिलिण्डरको आपूर्ति सहज बनाउन र बजार सामान्य अवस्थामा राख्न निर्देशन दिएको जनाएको छ।
निगमका अनुसार सन् २०२६ जनवरी महिनामा सम्बन्धित उद्योगहरूले इन्डियन आयल कर्पोरेसनबाट ४७ हजार ३०४ मेट्रिक टन एलपी ग्यास आयात गरेका छन्। यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ मेट्रिक टन र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो।
जाडोयामको बढ्दो माग धान्न यो परिमाण पर्याप्त रहेको निगमको भनाइ छ। हाल केही ग्यास उद्योगमा मात्रै सिलिण्डरको अभाव देखिएकाले ती उद्योगलाई तत्काल बजारमा आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो।
उहाँका अनुसार बजारको वर्तमान अवस्था र आसन्न निर्वाचनलाई ध्यानमा राख्दै फेब्रुअरी महिनाका लागि साविकको परिमाणमा थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरिएको छ। साथै, आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न निगमले सबै सरोकारवालालाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया