शनिबार २३ फाल्गुण २०८२
बिजनेस

जेन्जी आन्दोलनबाट ध्वस्त कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा

शनिबार माघ २४, २०८२/ Saturday 02-07-26

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। जेन्जी आन्दोलनका क्रममा ध्वस्त भएका १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरको शाखा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

पुनः सञ्चालनको अवसरमा बोल्दै भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भविष्यमा नेपालमा यस्ता घटना दोहोरिन नपरोस् भन्ने कामना गर्नुभयो। जेन्जी आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी गरिएको घटना दुःखद भए पनि त्यसमा निराश भएर बस्ने पक्षमा आफू नरहेको उहाँको भनाइ थियो।

प्रबन्ध निर्देशक गुरुङले आन्दोलनका क्रममा ध्वस्त भएका बाँकी ११ वटा भाटभटेनी सुपरमार्केट पनि छिट्टै पुनः सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। नागासाकी र हिरोसिमा ध्वस्त भएपछिसमेत जापानले पुनर्निर्माण गर्दै उन्नति गरेजस्तै, जेन्जी आन्दोलनले क्षति पुर्‍याएको नेपाल पनि अब क्रमशः राम्रो दिशातर्फ अघि बढ्ने उहाँको विश्वास छ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा निजी सम्पत्तिअन्तर्गत रहेका भाटभटेनी सुपरमार्केटका १२ वटा शाखा ध्वस्त हुँदा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको थियो। ती सबै सुपरमार्केटहरूको सञ्चालनमा ढिलाइ नहुने पनि प्रबन्ध निर्देशक गुरुङले स्पष्ट पार्नुभयो।

 

तपाईको प्रतिक्रिया