शनिबार २३ फाल्गुण २०८२
बिजनेस

निरन्तर ओरालोमा सेयर बजार, बुधबार पनि झिनो गिरावट

बुधबार माघ २८, २०८२/ Wednesday 02-11-26

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ अंकले घट्दै २६६२.०९ विन्दुमा बन्द भएको हो। अघिल्लो दिन मंगलबार भने नेप्से दोहोरो अंकले घटेको थियो।

साताको सुरुवातदेखि नै बजार निरन्तर दबाबमा देखिएको छ। आइतबार १०.२५ अंक, सोमबार २६ अंक र मंगलबार १०.२५ अंकले परिसूचक घटेको थियो। यद्यपि बुधबार भने बजार झिनो उतार–चढावमै सीमित रह्यो।

यस दिन ३२९ वटा स्क्रिप्सका २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको देखिएको छ।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये ११३ वटाको सेयर मूल्य बढ्दा १३३ वटाको घट्यो भने १३ वटाको मूल्य स्थिर रह्यो। आज पनि कुनै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुग्न सकेन।

रिडी पावरको सेयर मूल्य सर्वाधिक ९.६७ प्रतिशतले घट्यो। यता सिंगटी हाइड्रोपावर ८.६८ प्रतिशतले उकालो लाग्दा आँखु खोला जलविद्युत ७.२१ प्रतिशत, घलेम्दी हाइड्रोपावर ५.६९ प्रतिशत र पिपुल्स हाइड्रोपावर ४.७३ प्रतिशतले बढे।

कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रह्यो, जहाँ ६५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यस्तै आँखु खोला जलविद्युतको ६२ करोड, सिंगटी हाइड्रोपावरको ५८ करोड, एसवाइ प्यानल नेपाल २७ करोड र युनियन हाइड्रोपावरको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो।

समूहगत सूचकतर्फ पाँच उपसूचक सकारात्मक रहँदा आठ उपसूचक घटेका छन्। बैंकिङ, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट र नन–लाइफ इन्स्योरेन्स समूह उकालो लाग्दा अन्य समूह भने दबाबमा देखिए।

तपाईको प्रतिक्रिया