शनिबार २३ फाल्गुण २०८२
शिक्षा

माउन्ट ग्लोरीको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

सोमबार फाल्गुण ४, २०८२/ Monday 02-16-26

काठमाडौं । माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाई स्कूलले आफ्नो ऐतिहासिक ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज जमलस्थित राष्ट्रिय नाचघरमा भव्य सांगीतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

तीन दशकको शैक्षिक यात्रा, अनुशासन र उत्कृष्टताको उत्सवका रूपमा आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन विद्यालयका संस्थापक प्राचार्य गोपाल आचार्यले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टलगायत शिक्षा क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो । राष्ट्रिय गान र गुरु वन्दनाबाट सुरु भएको समारोहले सुरुदेखि नै गरिमामय तथा भावनात्मक वातावरण सिर्जना गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए । कक्षा २ र ३ का विद्यार्थीहरूको र्‍याम्प शो, नर्सरी तहका बालबालिकाहरूले “ह्वील अन द बस” तथा “पानी मुनी माछा” बोलका गीतमा प्रस्तुत गरेको नृत्यले दर्शकको मन जितेको थियो ।

अभिभावकहरू आफ्ना छोराछोरीको आत्मविश्वासपूर्ण प्रस्तुति देखेर हर्षित देखिन्थे भने पूर्वविद्यार्थी पदम वली र पारस विक्रम शाहले विद्यालयसँग जोडिएका आफ्ना पुराना सम्झना सुनाउँदै संस्थासँगको आत्मीय सम्बन्धलाई स्मरण गरेका थिए । वक्ताहरूले विद्यालयले विगत ३० वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गरिरहेको उल्लेख गर्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा तीन दशकको सफल यात्रालाई स्मरण गर्दै प्राचार्य गोपाल आचार्यले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया