काँग्रेसले गर्यो साम्बाको उपचारका लागि ५ लाख सहयोग
काठमाडौं । नेपाली काँग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
पार्टीका केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा खेलाडीको उपचारमा साथ दिनु सबैको दायित्व भएको उल्लेख गरिएको छ।
घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन् । उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाइएको छ।
विज्ञप्तिमा सभापति गगन थापाले देशको प्रतिष्ठा उकास्न महत्वपूर्ण भूमिका खेलेकी ‘साम्बा’प्रति सम्मान व्यक्त गर्दै कठिन समयमा सबैले साथ दिनुपर्ने बताएका छन्।
साथै, पार्टीले खेलकुदलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी राष्ट्रिय पहिचान सुदृढ गर्ने र राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिताको आधारस्तम्भ बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
तपाईको प्रतिक्रिया