काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्।
समूह ‘एक’को शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच पहिलो खेल दिउँसो सवा ३ बजे भारतको अहमदावादमा हुनेछ। यस खेलको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।
आजै आयोजक भारत र जिम्बावेबीच दोस्रो खेल बेलुका सवा ७ बजे चेन्नईमा हुँदैछ। सुपर–८ अन्तर्गत समूह ‘एक’मा भारत र जिम्बावे दुवै अंकविहीन रहेका छन्। आजको खेल हार्ने टोली विश्वकपबाट बाहिरिने भएकाले दुबै टिममाथि जितको उच्च दबाब छ।
समूह चरण पार गर्दै भारत, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका थिए।
समूह ‘दुई’बाट भने इंग्ल्यान्ड एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। यस समूहबाट अर्को सेमिफाइनल टोलीको टुंगो लाग्न बाँकी छ। श्रीलंका भने लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।
हाल समूह ‘दुई’को अंक तालिकामा दुई खेलबाट चार अंकसहित इंग्ल्यान्ड शीर्ष स्थानमा छ। न्युजिल्यान्डले तीन अंक जोड्दा पाकिस्तानको एक अंक रहेको छ भने श्रीलंका अंकविहीन अवस्थामा छ।
तपाईको प्रतिक्रिया