अपराजित यात्रा कायम राख्ने लक्ष्यमा इंग्ल्याण्ड, सेमिफाइनल दबाबमा न्युजिल्याण्ड
काठमाडौं ।आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणमा आज इङ्ल्याण्ड र न्युजिल्याण्डबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।
श्रीलंकाको आर प्रेमादासा स्टेडियम, कोलम्बोमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ।
इङ्ल्याण्ड भने सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको टोली हो। उसले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ। दुई पटकको विजेता इङ्ल्याण्ड अपराजित रहँदै नकआउट चरणमा पुग्ने लक्ष्यमा मैदान उत्रिँदैछ।
न्युजिल्याण्डका लागि भने आजको खेल निर्णायक बनेको छ। पहिलो खेल वर्षाका कारण पाकिस्तानसँग अंक बाँडेको न्युजिल्याण्डले दोस्रो खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको हो।
दुई खेलबाट ३ अंक जोडेको न्युजिल्याण्ड अझै सुरक्षित अवस्थामा छैन। आज जित हात पारे समूह–२ को विजेता बन्नेछ। तर हार व्यहोरेमा पाकिस्तानले श्रीलंकालाई हराए मात्रै न्युजिल्याण्डको सेमिफाइनल यात्रा सम्भव हुनेछ।
यसकारण आजको खेलले समूह विजेता मात्र होइन, सेमिफाइनल समीकरणसमेत तय गर्नेछ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच हालसम्म ३० खेल भएका छन्। जसमा इङ्ल्याण्डले १६ खेल जितेको छ भने न्युजिल्याण्डले १० खेल आफ्नो पक्षमा पारेको छ। एक खेल बराबरीमा सकिँदा तीन खेल नतिजाविहीन रहेका छन्।
सन् २०२१ को टी–२० विश्वकप सेमिफाइनलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो।
तपाईको प्रतिक्रिया