पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका आमनेसामने हुँदै
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।
जारी विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक भेट हुन लागेको हो। यसअघि समूह ‘डी’ अन्तर्गत भएको खेलमा दक्षिण अफ्रिकाले ७ विकेटले स्पष्ट जित निकालेको थियो।
एडन मार्क्रमको कप्तानीमा रहेको दक्षिण अफ्रिका प्रतियोगिताभर अपराजित रहँदै सेमिफाइनलसम्म आइपुगेको छ। समूह चरणमा शतप्रतिशत जित निकाल्दै सुपर एटमा पुगेको उसले त्यस चरणमा भारत र वेस्ट इन्डिज जस्ता बलिया टोलीलाई फराकिलो अन्तरले पराजित गर्दै आत्मविश्वास बलियो बनाएको छ। भारतलाई ७६ रन तथा वेस्ट इन्डिजलाई ९ विकेटले हराएको दक्षिण अफ्रिकाको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको छ।
मिचेल स्यान्टनरको नेतृत्वमा रहेको न्युजिल्याण्ड सुरुदेखि नै उत्कृष्ट लयमा देखिएको छ। समूह ‘डी’ को उपविजेता बन्दै दोस्रो चरणमा पुगेको किवी टोली सुपर एटमा पनि प्रतिस्पर्धी सावित भयो। पाकिस्तानसँग समान ३–३ अंक भए पनि राम्रो रनदरका आधारमा न्युजिल्याण्ड अन्तिम चारमा प्रवेश गर्न सफल भयो।
सुपर एटको समूह–२ मा घरेलु टोली श्रीलंकालाई ६१ रनले पराजित गर्नु नै न्युजिल्याण्डको सेमिफाइनल यात्रा सुनिश्चित गर्ने निर्णायक जित बन्यो। दबाबमा उत्कृष्ट प्रदर्शन गर्न माहिर मानिने किवी टोली ठूलो खेलमा कसरी प्रस्तुत हुन्छ भन्नेमा सबैको नजर रहनेछ।
टी–२० ढाँचाको समग्र भेट तथ्यांक हेर्दा दक्षिण अफ्रिकाको पलडा केही भारी देखिन्छ। यी दुईबीच भएका १९ खेलमध्ये दक्षिण अफ्रिकाले १२ तथा न्युजिल्याण्डले ७ खेल जितेका छन्। टी–२० विश्वकपमा मात्र भएका ५ भेटमा भने न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन।
उत्कृष्ट प्रदर्शनका बाबजुद निर्णायक खेलमा चुकेको इतिहास बोकेका यी दुई टोलीका लागि यसपटक त्यो छवि परिवर्तन गर्ने अवसर छ। दुवै टोली दोस्रो पटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
दक्षिण अफ्रिका गत संस्करणमा भारतसँग ७ रनले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो भने न्युजिल्याण्ड सन् २०२१ मा अष्ट्रेलियासँग ८ विकेटले हार्दै उपविजेता बनेको थियो।
दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड आमनेसामने हुनेछन्। प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ।
तपाईको प्रतिक्रिया