शनिबार २३ फाल्गुण २०८२
समाज

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुधबार फाल्गुण २०, २०८२/ Wednesday 03-04-26

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले लागू गरिएको मदिरा बिक्री–वितरण निषेध आदेश उल्लङ्घन गरेको आरोपमा रुपन्देहीमा ११ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा मंगलबार रातिसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा मदिरा पसल सिल गरिएको छ। साथै मदिरा बिक्री, वितरण तथा ओसारपसारमा संलग्न ११ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै मायादेवी गाउँपालिका–५ गोनाहा चोकमा रहेको एक मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ ब्रान्डका ११० बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालक पक्राउ परेका छन्। निषेधाज्ञा लागू रहेको अवधिमा मदिरा कारोबार गरेको पाइएपछि सम्बन्धित पसलहरू सिल गरिएको जनाइएको छ।

जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली खटाएर अनुगमन तीव्र पारिएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सार्वजनिक स्थलमा सेवन पूर्णरूपमा प्रतिबन्धित गरेको छ। निषेध आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

प्रहरीले निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि निरन्तर निगरानी राखिएको बताउँदै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कडाइका साथ आवश्यक कदम चालिने जनाएको छ।

तपाईको प्रतिक्रिया