शनिबार २३ फाल्गुण २०८२
समाज

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

बुधबार फाल्गुण २०, २०८२/ Wednesday 03-04-26

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन ३० वटा मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउने तयारी गरेको छ।

काठमाडौं महानगरपालिकासहित अन्य १० स्थानीय तहअन्तर्गतका ती मतदान केन्द्रहरूमा प्रत्येक स्थानमा चार/चार जना स्वयंसेवक परिचालन गरिने शाखाले जनाएको छ। यसबाहेक एम्बुलेन्ससहित सात सदस्यीय छुट्टै टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ, जसले आपत्कालीन अवस्थामा तत्काल हस्तक्षेप गर्नेछ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलका अनुसार मतदानका क्रममा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक जनशक्ति र सामग्रीसहित पूर्वतयारी गरिएको हो। उनका अनुसार स्वयंसेवकहरूले तत्काल प्राथमिक उपचार आवश्यक परेका व्यक्तिलाई सेवा प्रदान गर्नेछन्।

यस कार्यका लागि शाखाले स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिमसमेत दिएको थियो। तालिममा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पहुँच, मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण समेटिएको थियो। शाखाले मानवीय सेवाका विविध गतिविधिमा स्वयंसेवकहरूलाई निरन्तर परिचालन गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया