शनिबार २३ फाल्गुण २०८२
समाज

दुर्गमका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिने

बुधबार फाल्गुण २०, २०८२/ Wednesday 03-04-26

काठमाडाैँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दुर्गम तथा भौगोलिक रूपमा कठिन क्षेत्रलाई लक्षित गर्दै मतपेटिका ढुवानी र संकलनसम्बन्धी विशेष योजना लागू गरेको छ। हिमाली र उच्च पहाडी जिल्लामा निर्वाचन सामग्री पुर्‍याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रसम्म ल्याउन हेलिकप्टर प्रयोग गर्ने निर्णय गरिएको हो।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदानअघि नै डोल्पा जिल्लाका २३ र हुम्ला जिल्लाका ४ गरी कुल २७ अति दुर्गम मतदान केन्द्रमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ। मतदान सम्पन्न भएपछि पनि ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएका १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने उनले जानकारी दिए।

सडक सञ्जालले जोडिएका अन्य स्थानहरूमा भने सवारी साधन प्रयोग गरी मतपेटिका ढुवानी गरिनेछ। ढुवानी प्रक्रिया प्रभावकारी र सुरक्षित बनाउन आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा आवश्यक बजेट उपलब्ध गराइसकेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकायको समन्वयमा जिल्लागत ढुवानी योजना तयार पारिएको छ। सोही योजनाअनुसार मतदान केन्द्रबाट संकलित मतपेटिका देशभर तोकिएका १६५ मतगणना स्थलमा सुरक्षित रूपमा पुर्‍याइने आयोगले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया