महालक्ष्मी विकास बैंकद्वारा पोखरामा कार्यशाला तथा पदयात्रा कार्यक्रम सम्पन्न
पोखरा । महालक्ष्मी विकास बैंकले वातावरण संरक्षण, संस्कृति–सम्पदा जगेर्ना तथा दिगो बैंकिङ प्रवर्द्धनको सन्देश प्रवाह गर्ने उद्देश्यले पोखराको फेवाताल किनारमा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले फागुन २४ र २५ गते दुईदिने कार्यशाला आयोजना गर्दै सो कार्यक्रमअन्तर्गत पदयात्रा सञ्चालन गरेको हो। कार्यशालामा बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको बैंकको समग्र वित्तीय अवस्था, हालै सम्पन्न निर्वाचनपछि बनेको आर्थिक वातावरण तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने आर्थिक चुनौतीबारे समेत छलफल गरिएको बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यास अपनाउनुपर्ने सन्देश आमजनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण फेवाताल किनारमा पदयात्रा गरिएको जनाइएको छ। साथै कार्यक्रममा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित ३१ वर्षदेखि नेपाली जनतालाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ।
तपाईको प्रतिक्रिया