आइतबार १३ बैशाख २०८३
खेलकुद

एन्फा पदाधिकारीलाई विदेश जान रोक

आइतबार बैशाख १३, २०८३/ Sunday 04-26-26

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश यात्रा गर्न अस्थायी रूपमा रोक लगाइएको छ।

खेलकुद मन्त्रालय स्रोतका अनुसार एन्फाको आर्थिक गतिविधिबारे छानबिन भइरहेकाले सबै पदाधिकारीमाथि विदेश जान प्रतिबन्ध लगाइएको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनीहरूलाई निलम्बनसमेत गरिसकेको छ।

एन्फाको आर्थिक पक्षको अनुसन्धानका लागि राखेपले कमल भट्टराई को संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। खेलकुद मन्त्रालयमार्फत प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशनअनुसार उक्त समिति बनाइएको रामचरित्र मेहता ले बताएका छन्।

छानबिन प्रक्रिया प्रभावकारी बनाउन राखेपले एन्फा पदाधिकारीहरूको पासपोर्ट रोक्का गर्न खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो। त्यसपछि मन्त्रालयले गृह मन्त्रालयमार्फत सिफारिस गरेपछि अध्यागमन विभागले पासपोर्ट नियन्त्रणमा लिएको हो।

यसअघि ‘अर्ली इलेक्सन’ सम्बन्धी विवादका कारण राखेपले चैत ११ गतेदेखि तीन महिनाका लागि एन्फालाई निलम्बन गरेको थियो।

तपाईको प्रतिक्रिया