आइतबार १३ बैशाख २०८३
बिश्वो

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

उच्चस्तरीय कार्यक्रममा गोली चलेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
आइतबार बैशाख १३, २०८३/ Sunday 04-26-26

वासिङ्टन। अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता सङ्घ’को वार्षिक रात्रिभोजमा गोली प्रहार भएको छ।

सुरक्षा घेरा तोड्दै बन्दुकधारीले आक्रमण प्रयास गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले तत्काल सुरक्षित स्थानमा सारेका थिए।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले एक जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिएका छन्। नजिकबाट गोली प्रहार भए पनि बुलेटप्रुफ ज्याकेटका कारण उनको ज्यान जोगिएको बताइएको छ। “उनी खतरामुक्त छन्, केही साहसी सुरक्षाकर्मीका कारण ठूलो क्षति हुन पाएन,” उनले भने।प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम चलिरहेकै बेला अचानक गोली चलेपछि हलभित्र त्रास र अफरातफरी मच्चिएको थियो। पत्रकार र अतिथिहरू लामो समयसम्म टेबलमुनि लुकेका थिए भने सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा मानिसहरू भागदौड गरिरहेको देखिन्छ।

प्रहरीले आक्रमणकारीको पहिचान क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेनका रूपमा गरेको छ। उनलाई नियन्त्रणमा लिएर नजिकैको अस्पतालमा उपचार गराइँदै छ। महान्यायाधिवक्ताका अनुसार अब उनीविरुद्ध औपचारिक मुद्दा दर्ता गरिनेछ।

घटनापछि राष्ट्रपति ट्रम्पले संदिग्धको तस्बिर र गोलीबारी अघि खिचिएको भिडियो सार्वजनिक गरेका छन्। सुरक्षा निकायले यसलाई राष्ट्रपतिको सुरक्षामा गम्भीर कमजोरीका रूपमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया