शुक्रबार २९ फाल्गुण २०८२
बिश्वो

हर्मुज जलडमरुमा तनाव, तेल आपूर्ति संकटको खतरा

बिहीबार फाल्गुण २८, २०८२/ Thursday 03-12-26

काठमाडौं । सामरिक र व्यापारिक दृष्टिले अत्यन्त संवेदनशील मानिने स्ट्रेट अफ हर्मुजमा तनाव बढेको छ। इरान र अमेरिका–इजरायलबीचको बढ्दो द्वन्द्वका कारण यो मार्ग प्रभावित भएसँगै अन्तर्राष्ट्रिय कच्चा तेल आपूर्ति जोखिममा परेको छ।

हाल यहाँ रहेका तीन ठूला व्यापारिक जहाजमाथि शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार भएपछि यो जलमार्ग युद्धमैदानमा परिणत भएको छ। थाइल्याण्डको मालबाहक जहाज मयुरी नरीमा आगलागी हुँदा चालक दलले जहाज छाड्नुपरेको छ र सुरक्षा जोखिमका कारण ८० प्रतिशतभन्दा बढी जहाजहरूको आवागमन रोकिएको छ।

अमेरिकी पेन्टागनले इरानले बिछ्याउन लागेका १६ विस्फोटक माइन नष्ट गरिएको दाबी गरेको छ भने इरानी रिभोलुसनरी गार्ड्सले विदेशी हस्तक्षेप बढेको भन्दै थप कडा जवाफ दिने चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय समुदायले यस द्वन्द्वले विश्व अर्थतन्त्रलाई संकटमा पार्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इरानलाई आक्रमण रोकेको माग गरेको छ भने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सम्भावित तेल अभाव टार्न आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल आपूर्ति गर्ने तयारी थालेको छ।

विश्लेषकहरूका अनुसार यदि यो जलमार्ग लामो समयसम्म बन्द रह्यो भने पेट्रोलियम मूल्य वृद्धि हुनेछ र आपूर्ति प्रणाली पूर्ण रूपमा ठप्प हुन सक्ने खतरा छ।

 

तपाईको प्रतिक्रिया