नेप्सेमा आज ३२.०८ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा गत साढे सात महिनामा सबैभन्दा बढी कारोबार भएको छ। यस दिन कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।
अघिल्लो उच्च कारोबार साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँमा भएको थियो। बजारको सबैभन्दा ठूलो रेकर्ड भने २०८१ भदौको अन्तिम दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबारमा कायम छ।
चुनावपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको थियो। यसका कारण सेयर किनबेच गर्न इच्छुक लगानीकर्ताले कारोबार गर्न पाएका थिएनन्। त्यही दिन केवल ५५ करोड रुपैयाँको कारोबार मात्रै भएको थियो।
आजको कारोबार रकम उच्च भए पनि बजारको प्रमुख परिसूचक नेप्से ३२.०८ अंक (१.११%) घटेर २८४३ अंकमा आएको छ। अघिल्लो दिन नेप्से परिसूचक करिब ६ प्रतिशतले बढेर कारोबार स्थगित भएको थियो।
बजारमा आज तीव्र उतारचढाव देखियो। कारोबार सुरु भएपछि नेप्से १२:३५ बजे २७९६ अंकसम्म झरेको थियो। तर त्यसपछि बजार सम्हालियो र अन्तिम समयसम्म स्थिर रह्यो।
आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।
तपाईको प्रतिक्रिया