पूर्वआयुक्त पाठकको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ।
उक्त मुद्दा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। तर यसअघि सोही मुद्दाको लगाउमा रहेको प्रकरणमा न्यायाधीश सुवेदीले आदेश जारी गरिसकेकाले मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो।
नेपाल इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाइदिने बहानामा ७८ लाख रुपैयाँ घुस लिएको आरोप सार्वजनिक भएपछि पाठकले महाअभियोगको डरले आयुक्त पदबाट राजीनामा दिएका थिए।
कलेजको अनियमितता मिलाउन कुल १ करोड ६० लाख रुपैयाँ घुसको डिल भएको बताइए पनि सुरुमा पेस्कीस्वरूप दुई चरणमा ७८ लाख रुपैयाँ दिइएको थियो। उक्त रकम कलेजका अध्यक्ष लम्बोदर न्यौपानेमार्फत पठाइएको र पछि रकम लेनदेनसम्बन्धी अडियो–भिडियो सार्वजनिक भएपछि प्रकरण बाहिर आएको थियो।
यस प्रकरणमा विशेष अदालतले पाठक र न्यौपानेलाई भ्रष्टाचारको प्रयास गरेको ठहर गर्दै ३–३ वर्ष कैद र जनही ३९ लाख रुपैयाँ जरिवाना तोकेको थियो। साथै पाठकलाई थप तीन महिना कैद सजाय पनि सुनाइएको थियो।
तर आधा मात्र सजाय भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णयविरुद्ध पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेको छ।
तपाईको प्रतिक्रिया