वायु प्रदूषण बढ्यो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं। पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयले वायुको गुणस्तर अत्यन्त खराब बन्दै गएको भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न स्थानमा हावामा पाइने हानिकारक सूक्ष्म कण ‘पर्टिकुलेट म्याटर (पीएम २.५)’ को मात्रा उल्लेखनीय रूपमा बढेको छ।
यी अत्यन्त साना तर खतरनाक कणहरू श्वासप्रश्वास वा छालामार्फत शरीरभित्र प्रवेश गरी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने उनले बताए।
मन्त्रालयले विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगबाट पीडित व्यक्तिहरू प्रदूषणका कारण उच्च जोखिममा पर्ने भएकाले थप सावधानी अपनाउन आग्रह गरेको छ।
प्रवक्ता डा. बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण आँखा दुख्ने, जलन हुने र दृष्टिमा समस्या देखिनेदेखि लिएर मुटु, मिर्गौला तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्न सक्छन्। दीर्घकालीन रूपमा यसले क्यान्सरसम्मको जोखिम बढाउन सक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।
तपाईको प्रतिक्रिया