शुक्रबार २९ फाल्गुण २०८२
राजनीति

निर्वाचन सम्पन्न गराउन खटिएका प्रहरीलाई सम्मानसहित बिदाइ

बिहीबार फाल्गुण २८, २०८२/ Thursday 03-12-26

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको कार्यअवधि सकिएसँगै आज बिदाइ गरिएको छ।

४० कार्यदिनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूको अवधि आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेले जानकारी दिए। उनीहरूलाई धन्यवाद ज्ञापन, प्रमाणपत्र प्रदान गर्दै आवश्यक पर्दा देशलाई सहयोग गर्ने प्रतिबद्धतासहित सम्मानपूर्वक बिदाइ गरिएको हो।

काफ्लेका अनुसार निर्वाचन प्रहरीहरूको प्रभावकारी परिचालनकै कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको थियो। यस निर्वाचनमा नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार सशस्त्र प्रहरी मातहतका निर्वाचन प्रहरीहरूको पनि आजै बिदाइ गरिएको छ। उनीहरूले पाउनुपर्ने पारिश्रमिक तथा सेवासुविधा खातामार्फत उपलब्ध गराइसकिएको जनाइएको छ।

निर्वाचन प्रहरीहरूले ३४ हजार रुपैयाँ तलबका साथै जिल्ला दररेटअनुसार रासन भत्ता, यातायात भत्ता, खाजा खर्च र पोसाक भत्ता बापत एकसरो कपडाको खर्च पाएका छन्।

 

तपाईको प्रतिक्रिया