शुक्रबार २९ फाल्गुण २०८२
बिश्वो

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

बिहीबार फाल्गुण २८, २०८२/ Thursday 03-12-26

काठमाडौं। कुवेतको कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै ड्रोन आक्रमण भएको छ। कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार विमानस्थल क्षेत्रमा भएको आक्रमणबाट केही भौतिक क्षति पुगेको छ।

नागरिक उड्डयन सार्वजनिक प्राधिकरणलाई उद्धृत गर्दै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरिएको जानकारीअनुसार ड्रोन विमानस्थल परिसरमा खस्दा केही संरचनामा क्षति पुगेको हो। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्।

घटनापछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने प्राविधिक टोलीले क्षतिको मूल्यांकन सुरु गरेको जनाइएको छ। विमानस्थलमा उडान सञ्चालनमा सामान्य सतर्कता अपनाइएको भए पनि सेवा पूर्ण रूपमा बन्द गरिएको छैन।

पश्चिम एसियामा पछिल्लो समय बढ्दो तनावका कारण खाडी क्षेत्रमा रहेका सैन्य तथा नागरिक पूर्वाधारलाई लक्षित गर्दै आक्रमणका घटना बढिरहेका छन्। कुवेतसँगै बहराइन, यूएई, साउदी अरब, ओमान र कतारजस्ता मुलुकमा पनि सुरक्षा सतर्कता उच्च पारिएको छ।

क्षेत्रीय द्वन्द्व तीव्र बन्दै जाँदा अन्तर्राष्ट्रिय उडान सुरक्षा र ऊर्जा आपूर्तिसम्बन्धी चिन्ता समेत बढ्दै गएको विश्लेषकहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया