समानुपातिक सांसदको सूची टुङ्ग्याउन आज रास्वपा, कांग्रेस र नेकपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। बैठकले प्रतिनिधि सभातर्फ समानुपातिक प्रणालीअन्तर्गत पठाइने उम्मेदवारहरूको अन्तिम सूची तय गर्ने तयारी गरेको छ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालका अनुसार समानुपातिक सूची टुङ्गो लगाउन बैठक बोलाइएको हो। बैठकले निर्णय गरेपछि सूची निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए।
पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था प्रतिकूल बनेपछि शनिबार बोलाइएको बैठक आइतबारका लागि सारिएको थियो।
रास्वपाले प्रतिनिधि सभा प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।
यसैबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आइतबार बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकले समानुपातिक बन्दसूचीबाट दलले प्राप्त गरेको सिटका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी आयोगमा पठाउने निर्णय गर्नेछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ।
उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि प्रतिनिधि सभातर्फ समानुपातिक सांसदको नाम आइतबार टुङ्गो लगाउने तयारी गरेको छ। आयोगले तीन दिनभित्र सूची बुझाउन पत्र पठाएपछि पार्टी बैठकबाट अन्तिम नामावली तय गरिने नेकपा कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए।
नेकपाले प्रत्यक्षतर्फ ८ सिट जित्दा समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ।
यसअघि एमालेले आफ्नो भागमा परेका १६ जनाको नाम सिफारिस गरिसकेको छ भने श्रम संस्कृति पार्टीले पनि ४ जनाको नाम आयोगमा पठाइसकेको छ।
तपाईको प्रतिक्रिया