मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पाँचौँ नम्बरमा पुगे सुधन
काठमाडौँ । मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) पुनः हेरफेर गरिएको छ। चैत १३ गते नियुक्त भएका मन्त्रीहरूको वरीयता मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले संशोधन गरेका हुन्।
नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्रीपछि दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत् रहेका छन्। वरीयतामा उल्लेख्य परिवर्तन गर्दै यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ लाई पाँचौँ स्थानमा झारिएको छ।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल लाई तेस्रो स्थानमा उकासिएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा ल्याइएका छन्, जो यसअघि छैटौँ स्थानमा थिए।
भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल भने पाँचौँबाट छैटौँ स्थानमा झरेका छन्।
त्यस्तै, यसअघि अन्तिम स्थानमा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी लाई अहिले आठौँ स्थानमा राखिएको छ। हाल वरीयताको सबैभन्दा तल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहेका छन्।
अन्यतर्फ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानमा, संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल नवौँ स्थानमा र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता दशौँ स्थानमा राखिएका छन्।
तपाईको प्रतिक्रिया