शनिबार १९ बैशाख २०८३
समाज

आज हटाइएका सुकुमवासीलाई खरिपाटीदेखि बनेपासम्म ५ स्थानमा राखिने

शुक्रबार बैशाख १८, २०८३/ Friday 05-01-26

काठमाडौं । काठमाडौंमा विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुमवासीहरूलाई आज अन्यत्र सारिएको छ। बल्खु, वंशीघाट, बालाजु र शंखमूल क्षेत्रमा रहेका टहरा हटाइएपछि उनीहरूका लागि अस्थायी बसोबासको व्यवस्था गरिएको हो।

स्थानान्तरण गरिएका परिवारहरूलाई हालका लागि पाँच फरक स्थानमा राख्ने तयारी गरिएको छ। ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीमा रहेको विद्युत तालिम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, नगरकोटस्थित खानेपानी तालिम केन्द्र तथा काभ्रेको बनेपामा रहेको रेडक्रस भवनमा उनीहरूको व्यवस्थापन गरिने बताइएको छ।

सुकुमवासीलाई अस्थायी बसोबास स्थलतर्फ लैजानुअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उनीहरूको विवरण संकलन गर्ने काम भइरहेको छ। अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा उपस्थित भई आफ्नो विवरण दर्ता गराएका छन्।

यस कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली संलग्न रहेको छ।

तपाईको प्रतिक्रिया