बिहीबार १७ बैशाख २०८३
राजनीति

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सारले सीमावासीलाई सास्ती — गगन थापा

बिहीबार बैशाख १७, २०८३/ Thursday 04-30-26

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने सरकारी व्यवस्था अव्यवहारिक र जनतामाथि बोझ बनेको बताएका छन्।

सर्लाहीको सीमावर्ती क्षेत्रको भ्रमणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त नीतिले स्थानीय नागरिकको दैनिकी झन् कठिन बनाएको उल्लेख गरेका हुन्। सीमाक्षेत्रका बासिन्दासँगको भेटघाटबाट आफूले असन्तुष्टि र आक्रोश महसुस गरेको उनले बताएका छन्।

थापाका अनुसार दैनिक ज्यालादारीका लागि भारत जाने श्रमिकहरू सामान्य सामान लिएर फर्किँदा समेत लामो समय सीमामा रोकिनुपरेको अवस्था छ। उनले एक मजदुर बिस्कुटको प्याकेट बोकेर आउँदा दुई घण्टा रोकिएको उदाहरण दिएका छन्। त्यस्तै, स्थानीय महिलाहरूले पनि पहिले सहज रूपमा सीमा पार गर्न पाउने अवस्था अहिले डरमा परिणत भएको गुनासो गरेको उनले बताएका छन्।

उक्त व्यवस्था नयाँ नभए पनि व्यवहारमा लागू गर्दा समस्या देखिएको उनले स्वीकार गरेका छन्। विगतमा पनि कानुनमा रहे पनि यसको अव्यवहारिकता बुझेर कार्यान्वयन नगरिएको तर समयमै सुधार गर्न नसक्नु कमजोरी भएको उनले उल्लेख गरेका छन्।

थापाले यो नीति नागरिकमैत्री नभई विशेषगरी मधेशका बासिन्दामाथि अन्याय भएको टिप्पणी गरेका छन्। उनका अनुसार यसले सामान्य आवतजावतलाई समेत झन्झटपूर्ण बनाएको छ र अपेक्षित राजस्वसमेत नउठ्ने अवस्था रहेको छ।

उनले सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन र सीमामा पहिलेजस्तै सहज आवागमन सुनिश्चित गर्न माग गरेका छन्। सीमाक्षेत्रलाई देशको महत्वपूर्ण आर्थिक र सांस्कृतिक केन्द्र मान्दै त्यहाँका नागरिकलाई अनावश्यक दुःख नदिनुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया