शनिबार १९ बैशाख २०८३
समाज

रोल्पा जीप दुर्घटनामा तीन दिनपछि मात्रै रास्वपाको शोक, सरकारको मौनतामाथि प्रश्न

शनिबार बैशाख १९, २०८३/ Saturday 05-02-26

काठमाडौं।  रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन दिनपछि मात्र शोक वक्तव्य जारी गरेको छ।

बिहीबार रोल्पाको थवाङ–१ स्थित भिरालो क्षेत्रमा लु १ ज ४१६७ नम्बरको जीप करिब ७००–८०० मिटर गहिरो भीरमा खस्दा ठूलो मानवीय क्षति भएको थियो। घटनाको तीन दिनपछि शनिबार रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

दुर्घटनापछि विभिन्न तहबाट शोक व्यक्त भइरहे पनि सत्तारुढ शीर्ष नेतृत्वको मौनतामाथि प्रश्न उठ्न थालेको छ। प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाबारे सार्वजनिक रूपमा प्रतिक्रिया नदिएको भन्दै आलोचना भइरहेको छ।

यता, शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घटनालगत्तै दुःख व्यक्त गरेका थिए भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शोक सन्देश जारी गरेका थिए।

रास्वपाले ढिलोगरी जारी गरेको विज्ञप्तिमा सडक सुरक्षामा सुधार आवश्यक रहेको उल्लेख गर्दै यस्ता दुर्घटना रोक्न नीतिगत सुधार, कडा कार्यान्वयन र पूर्वाधार विकासमा जोड दिएको छ।

दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयबासीले उद्धार कार्यमा सक्रियता देखाए पनि दुर्गम भौगोलिक अवस्थाका कारण काम चुनौतीपूर्ण बनेको थियो। भीरमा खसेको जीपबाट शव निकाल्न सुरक्षाकर्मीले ठूलो मिहिनेत गर्नुपरेको थियो।

स्थानीय जनप्रतिनिधिहरूले घटनालगत्तै हेलिकोप्टरमार्फत उद्धारका लागि संघीय सरकार र नेपाली सेनासँग अनुरोध गरे पनि सहयोग नपाएको गुनासो गरेका छन्। साथै, प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्क गर्न खोज्दा फोन काटिएको आरोपसमेत उनीहरूले लगाएका छन्।

यस घटनाले दुर्गम क्षेत्रका नागरिकप्रति राज्यको संवेदनशीलता र पहुँचका विषयमा गम्भीर बहस सुरु गराएको छ।

 

तपाईको प्रतिक्रिया