बिहीबार १० बैशाख २०८३
बिजनेस

महालक्ष्मी विकास बैंकले सुरु गर्यो अन्तरदेशीय क्यूआर भुक्तानी सेवा

सोमबार बैशाख ७, २०८३/ Monday 04-20-26

काठमाडौँ । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उद्देश्यसहित क्यूआर कोडमार्फत भुक्तानी सेवा विस्तार गरेको छ। बैंकले फोनपे नेटवर्कमार्फत युनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गरेको जनाएको छ।

यस नयाँ सेवामार्फत युनियनपे वालेट प्रयोगकर्ताले नेपालभित्र रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। विशेषगरी चीनलगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई यस सेवाले सहजता प्रदान गर्ने विश्वास गरिएको छ। यसले यात्राका क्रममा नगद बोक्नुपर्ने झन्झटसमेत घटाउने बैंकको भनाइ छ।

सन् २००२ मा स्थापना भएको युनियनपे विश्वका ठूला भुक्तानी सेवा प्रदायकहरूमध्ये एक हो। यसका ८ अर्बभन्दा बढी कार्ड विश्वभर प्रचलनमा रहेका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ। बैंकले यस सहकार्यले नेपालमा क्यूआर पूर्वाधारलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

बैंकले डिजिटल नवप्रवर्द्धनलाई थप सुरक्षित, प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता पनि जनाएको छ। साथै, चालु वर्षलाई डिजिटल प्रवर्द्धन वर्षका रूपमा मनाउने योजनाअनुसार ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत विभिन्न आकर्षक योजना सार्वजनिक गरिएको छ। एप प्रयोगकर्ताले तोकिएको अवधिमा कम्तीमा एक सफल कारोबार गरेमा गोलाप्रथामार्फत तीन जनाले आकर्षक भ्रमण प्याकेज जित्न सक्ने व्यवस्था गरिएको छ।

‘सबै बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन्। करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि नवीन प्रविधिमार्फत ग्राहक अनुभव सुधार गर्ने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया