गुणस्तर मापदण्ड नपुगेपछि ‘ओन्डाट्रोन–४’ औषधि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै “ओन्डाट्रोन–४” नामक औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्डअनुसार नभएको पाइएको हो। परीक्षण प्रतिवेदनमा “आईपी २०२२ अनुसार परिमाण परीक्षणमा अनुपयुक्त” रहेको उल्लेख गरिएको छ।
विभागका अनुसार उक्त औषधि “ओन्डाट्रोन–४ (ओन्डान्सेट्रोन हाइड्रोक्लोराइड ४ मिलिग्राम)” हो, जसको ब्याच नम्बर ओएनडीटी २९०१ रहेको छ। यसको उत्पादन मिति अगस्ट २०२५ र म्याद सकिने मिति जुलाई २०२७ रहेको छ।
यो औषधि देउराली–जनता फार्मास्युटिकल्स प्रा. लि. ले उत्पादन गरेको हो। विभागले सम्बन्धित उत्पादक तथा वितरकलाई उक्त ब्याचका सबै औषधि तत्काल बजारबाट फिर्ता गरी सोको विवरण विभागमा पेश गर्न निर्देशन दिएको छ।
साथै, उक्त ब्याच नम्बरको औषधि बिक्री, वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सरोकारवालालाई आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया