शुक्रबार ११ बैशाख २०८३
राजनीति

आज लोकतन्त्र दिवस

शुक्रबार बैशाख ११, २०८३/ Friday 04-24-26

काठमाडौं । प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा ज्यान उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज देशभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ।

२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्दै कार्यकारी अधिकार त्यागेपछि निरङ्कुश शासनको अन्त्य भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ। उक्त घोषणा २०६२/६३ को जनआन्दोलनको दबाबपछि आएको थियो, जसमा सात राजनीतिक दल र नेकपा (माओवादी) समेतको सक्रिय सहभागिता थियो।

सोही आन्दोलनको उपलब्धिस्वरूप पुनःस्थापित प्रतिनिधिसभाको बैठक वैशाख १५ मा आह्वान गरिएको थियो। त्यसपछिका राजनीतिक प्रक्रियाबाट दुई संविधानसभा गठन भई अन्ततः नेपालको संविधान २०७२ जारी भयो, जसले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्‍यो।

हाल संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै संघीयताको अभ्यास भइरहेको छ, जसले सेवा प्रवाहलाई जनतासम्म सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

२०६५ सालदेखि प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवसका रूपमा मनाउने परम्परा रहेको छ।

 

तपाईको प्रतिक्रिया