शुक्रबार ११ बैशाख २०८३
अर्थ

नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब २७ करोडको सेयर किनबेच

शुक्रबार बैशाख ११, २०८३/ Friday 04-24-26

 

काठमाडौं । शुक्रबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले बढ्दै २७८८.७० विन्दुमा बन्द भएको हो।

परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार यो घटेर ५ अर्ब २७ करोड रुपैयाँमा सीमित रह्यो। कुल ३५१ कम्पनीका एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच भएका छन्।

यसदिन ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

पाल्पा सिमेन्ट, शिखर पावर र माइखोला हाइड्रोपावर का लगानीकर्ताले सकारात्मक सर्किटको लाभ उठाएका छन्। यी कम्पनीहरूको सेयर मूल्य १५ प्रतिशतले बढ्दै क्रमशः ९७१ रुपैयाँ ४० पैसा, ९२० रुपैयाँ १० पैसा र ७२४ रुपैयाँ ५० पैसा पुगेको छ।

घट्ने सूचीमा मेन्छायम हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको मूल्य ३.५० प्रतिशतले घटेर ३५० रुपैयाँ ३० पैसामा झरेको छ। त्यस्तै एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड को इकाइ मूल्य ३.१६ प्रतिशतले घटेर ९ रुपैयाँ २० पैसामा सीमित भयो।

कारोबारका आधारमा रिडी पावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३६२ रुपैयाँमा २७ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले बढी हो। दोस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्स रह्यो, जसको ४२२० रुपैयाँमा २४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत रूपमा हेर्दा कारोबारमा सहभागी १३ मध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूह घटेका छन्। सबैभन्दा धेरै गिरावट ‘अन्य’ समूहमा देखिएको छ, जुन १.०२ प्रतिशतले तल झरेको छ।

तपाईको प्रतिक्रिया