आइतबार १३ बैशाख २०८३
खेलकुद

नेपालको उत्कृष्ट जित: यूएई ३७ रनले पराजित

शनिबार बैशाख १२, २०८३/ Saturday 04-25-26

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले यूएईमाथि शानदार जित निकालेको छ। नेपालले यूएईलाई ३७ रनले पराजित गर्दै महत्वपूर्ण अंक हासिल गर्‍यो।

२०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमै सीमित भयो। नेपालका लागि करण केसीले चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। त्यसैगरी सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए।

यूएईका हरप्रित सिंहले ३९ रन बनाउँदै सर्वाधिक स्कोर गरे। त्यस्तै मोहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनमा समेटिएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७५ रनको उत्कृष्ट इनिङ्स खेले।

नेपालको सुरुआत कमजोर रह्यो। आसिफ शेख ७ रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल २ रनमा पवेलियन फर्किए। कुशल भुर्तेलले २४, बसिर अहमदले २० र करण केसीले २२ रनको योगदान दिए।

अन्य खेलाडीमा भीम सार्कीले १० तथा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन बनाए।

बलिङतर्फ यूएईका जुनैद सिद्दिकी, अयान अफजल खान र खुजैमा तनवीरले समान तीन–तीन विकेट लिए।

 

तपाईको प्रतिक्रिया