अवरुद्ध बीपी राजमार्ग अझै बन्द, सोमबारदेखि खुलाउने तयारी
काभ्रे। काभ्रेपलाञ्चोकमा लगातार वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। आइतबार सडक खुलाउने प्रयास भइरहेकै बेला पुनः वर्षा भएपछि अस्थायी डाइभर्सन निर्माणको काम रोकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। वर्षा नरोकिए जोखिम बढ्ने भएकाले काम स्थगित गरिएको हो।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार मौसम अनुकूल भए सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउने तयारी छ। आइतबार आठ स्थानमा डाइभर्सन बनाएर सवारी सञ्चालन गराउने प्रयास गरिए पनि चार सयबेँसी क्षेत्रमा वर्षाका कारण काम अधुरै रह्यो।
शनिबार दिउँसोदेखि सुरु भएको वर्षापछि रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकखण्डका करिब चार किलोमिटर डाइभर्सन बगाएको छ। चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्तीसहित आठ स्थानमा क्षति पुगेको छ।
जोखिमका कारण शनिबार दिउँसो ३:३० बजेदेखि कटुन्जे–मङ्गलटार खण्डमा आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो। सडक अवरुद्ध भएपछि धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र नेपालथोक क्षेत्रमा सवारी रोकिएका थिए।
अलपत्र परेका करिब ६ सय यात्रुलाई आइतबार झोलुङ्गेपुल हुँदै तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको भकुण्डेसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ। स्थानीय सहयोगमा यात्रुलाई खानेकुरा र पानीसमेत उपलब्ध गराइएको थियो।
गत वर्षको बाढीपहिरोले सो क्षेत्रमा सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि हालसम्म अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ भने अहिले स्थायी सडक निर्माणको काम जारी छ।
तपाईको प्रतिक्रिया