काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बेको नाम अगाडि सारिएको छ। सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उक्त प्रस्ताव आएको हो।
बैठकका क्रममा सभापति गगन थापाले पूर्व सहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई दलको नेतामा चयन गर्ने प्रस्ताव राखेका थिए। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सो जानकारी सार्वजनिक गरिएको हो।
यसअघि दलको नेतामा सहमति कायम गर्न गत शुक्रबार बसेको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत सहभागी थिए। साथै, दलको नेता चयनका लागि गठित निर्वाचन समितिलाई पनि सहमति जुटाउने जिम्मेवारी दिइएको थियो।
केन्द्रीय कार्यसम्पादन समितिले प्रक्रिया सहजीकरण गरिरहेको भए पनि संसदीय दलको नेता भने सांसदहरूले नै चयन गर्ने व्यवस्था छ। यसैअनुसार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको बैठक बोलाइएको छ, जहाँ सर्वसम्मत रूपमा नेता चयन गर्ने तयारी गरिएको छ।
हाल कांग्रेससँग ३८ जना सांसद रहेका छन्, जसमा आङ्देम्बे समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसद हुन्।
तपाईको प्रतिक्रिया