दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्। यो उद्यान भानुभक्त आचार्यको जन्मस्थलमा स्थापना गर्न लागिएको हो।
भानु नगरपालिकाले गत पुसमै यस परियोजनाको विस्तृत प्रतिवेदन स्वीकृत गरिसकेको छ। सो स्थानलाई “सप्तधाम”को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्वीकृत गुरुयोजनाअनुसार उद्यान निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्म सडक स्तरोन्नति गरी कालोपत्रे गरिनेछ। साथै ५४ फिट अग्लो भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना पनि रहेको छ।
हालसम्म करिब ४०० रोपनी जग्गा व्यवस्थापन भइसकेको र गुरुयोजना कार्यान्वयनपछि साहित्य, संस्कृति र पर्यटनसँग सम्बन्धित विभिन्न संरचना निर्माण गरिने अपेक्षा गरिएको छ। यसअन्तर्गत अध्ययन–अनुसन्धानका सुविधा, सांस्कृतिक प्रतीक तथा पर्यटकीय पूर्वाधार विकास गरिनेछ।
नगरप्रमुख त्रिपाठीका अनुसार नेपाली भाषालाई एकतामा बाँध्ने आदिकवि भानुभक्तको जन्मथलो ओझेलमा परेकाले यसलाई साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिएको हो। उनले यस स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित धामका रूपमा स्थापित गर्ने योजना अघि बढाइएको बताए।
उद्यान क्षेत्रमा भानुभक्तको सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, प्रज्ञा भवन, वनस्पति उद्यान, सप्तधाम, वनभोज स्थल, प्राकृतिक भ्रमण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग निर्माण गर्ने प्रस्ताव छ।
हालसम्म उद्यान निर्माणमा एक करोड ८० लाखभन्दा बढी खर्च भइसकेको छ, जुन रकम पछिल्ला दुई आर्थिक वर्षमा खर्च गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया