महालक्ष्मी विकास बैंकका वित्तीय साक्षरता र सामाजिक विकास कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रमा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरणीय कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, विपद् व्यवस्थापन, दिगो विकास तथा मानवीय सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ ।
यसैक्रममा लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा “दश लाख वृक्षरोपण तथा संरक्षण अभियान” अन्तर्गत पृथ्वी दिवसको अवसरमा खप्तड क्षेत्रको वडा नम्बर १, काँडामा दुई हजार कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरिएको छ । उक्त कार्यक्रमले हरियाली विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोतको उपयोग तथा रोजगारी सिर्जनामार्फत जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।
त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमलाई पनि बैंकले आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमबाट संकलित रकम क्यान्सर प्रभावित बालबालिकाको उपचार सहयोगका लागि हस्तान्तरण गरिएको जनाइएको छ ।
विश्वव्यापी मुद्रा सप्ताह २०२६ को अवसरमा बैंकले नेपालगञ्जस्थित श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । साथै युवापुस्तामाझ वित्तीय चेतना, व्यवहारिक आर्थिक ज्ञान तथा शिक्षामा आधारित सामाजिक विकास प्रवर्द्धन गर्ने उद्देश्यले सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई समेत आर्थिक सहयोग गरेको जनाएको छ ।
बैंकले देशभरका शाखा कार्यालय तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न समुदायलाई लक्षित गरी वित्तीय साक्षरता तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
हाल देशभर १०३ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको बैंकका करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् । “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित बैंकले गुणस्तरीय वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया