सोमबार १४ बैशाख २०८३
राजनीति

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा शिक्षा, विज्ञान, प्रविधि र खेलकुद क्षेत्रमा चीनको सहयोग र सहकार्यबारे विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा विद्यालय पूर्वाधार सुदृढीकरण, पठनपाठनमा डिजिटल प्रविधिको प्रयोग, संस्थागत विकास लगायत समसामयिक विषयहरूमा ध्यान केन्द्रित गरिएको थियो। साथै, नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।

भेटका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले विद्यालयको भौतिक संरचना सुधार, डिजिटल शिक्षाको विकास तथा चीनसँगको सहकार्यलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका थिए। उनले शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न गराउने र नेपाली विद्यार्थीको रुचिअनुसार चीनबाट प्रदान गरिने छात्रवृत्ति बढाउन पनि आग्रह गरेका थिए।

राजदूत माओमिङले नेपाल सरकारले उठाएका विषयमा सकारात्मक प्रतिक्रिया जनाउँदै चीन सहकार्य विस्तार गर्न तयार रहेको बताएका छन्। भेटवार्तामा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा आपसी समझदारी बनेको जनाइएको छ।

तपाईको प्रतिक्रिया