काठमाडौं। आईसीसी महिला च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा पनि नेपाल ७ विकेटले पराजित भएको छ। रुबि पोद्दारले शानदार अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानको कमजोर प्रदर्शनका कारण नेपाल हारबाट जोगिन सकेन।
रुवान्डामा भएको खेलमा नेपालले दिएको ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११.५ ओभरमा ३ विकेट गुमाएर सजिलै पूरा गर्यो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ८६ रन बनाएको थियो।
नेपालको सुरुवात निकै कमजोर रह्यो। ओपनर सम्झना खड्का शून्यमै आउट भइन् भने विन्दु रावल (३), पूजा महतो (८) र कविता जोशी (१) ले पनि टिक्न सकेनन्। १२.१ ओभरसम्म ४ विकेट गुमाएर २७ रन मात्र बनाएको अवस्थामा रुबि पोद्दारले एकल संघर्ष गर्दै ५१ बलमा ५ चौका र १ छक्कासहित अविजित ५१ रन जोडिन्।
पाँच खेलमध्ये नेपालको यो तेस्रो हार हो। दुई जितसहित ४ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ। अमेरिका भने चार जितसहित ८ अंकका साथ शीर्ष स्थानमा छ।
यसअघि पहिलो भेटमा पनि नेपाल अमेरिका संग ४४ रनले पराजित भएको थियो। अब नेपालले भोलि रुवान्डासँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया