सोमबार १४ बैशाख २०८३
समाज

पोखरा सभागृह २९ करोडमा पुनर्निर्माण हुँदै

सोमबार बैशाख १४, २०८३/ Monday 04-27-26

गण्डकी।  पोखरा सभागृहलाई आधुनिक सुविधा सहित पुनर्निर्माण गरिने भएको छ।

करिब ४२ वर्षअघि निर्माण भएको सभागृह जीर्ण बन्दै गएपछि पोखरा महानगरपालिका र नगर विकास कोष बीच सहकार्यमा पुनर्निर्माण गर्ने सहमति भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

उनका अनुसार करिब २९ करोड रुपैयाँ लागतमा योजना कार्यान्वयन हुनेछ। तयार भइसकेको डिजाइनअनुसार उत्तरतर्फ दुईपांग्रे सवारी पार्किङ, दक्षिणतर्फ शौचालय, बगैँचा क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ तथा प्रदर्शनी हल निर्माण गरिनेछ। दक्षिण–पूर्व भागमा सानो हल र किचेन तथा न्युरोडतर्फ भित्र–बाहिरबाट प्रयोग गर्न मिल्ने चमेनागृह बनाइनेछ।

पुनर्निर्माणपछि सभागृहमा डिजिटल एलईडी स्क्रिन जडान गरिनेछ, जसले कार्यक्रमका लागि ब्यानर टाँस्नुपर्ने आवश्यकता हटाउनेछ।

महानगरले पुनर्निर्माणपछि सभागृहलाई आधुनिक र सुविधासम्पन्न बनाउँदै विभिन्न संघसंस्थालाई सहुलियत दरमा उपलब्ध गराउने र त्यसबाट प्राप्त आम्दानीमार्फत सञ्चालन तथा लगानी व्यवस्थापन गर्ने योजना बनाएको छ।

 

तपाईको प्रतिक्रिया