काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको १३औँ महानिरीक्षक (आईजीपी) पदमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई संगठन प्रमुख बनाउने निर्णय गरेको हो।
हालका आईजीपी राजु अर्यालको चारवर्षे कार्यकाल १८ वैशाखमा सकिँदैछ। त्यसपछि पौडेलले नेतृत्व सम्हाल्नेछन्। उनी हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागका प्रमुखका रूपमा कार्यरत छन्।
आईजीपीका लागि पौडेल अग्रपंक्तिका दाबेदार थिए। उनीसँगै एआईजीहरू वंशी दाहाल र गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा रहे पनि उनीहरू ज्येष्ठताका हिसाबले पछाडि थिए।
पौडेलले २०५४ साल चैत १८ गते नेपाल प्रहरीमा इन्स्पेक्टरका रूपमा सेवा सुरु गरेका थिए। पछि सशस्त्र प्रहरी गठन भएपछि उनी उक्त संगठनमा सरुवा भएका हुन्। उनले २०५८ सालमा डीएसपी, २०६३ मा एसपी, २०७० मा एसएसपी, २०७५ मा डीआईजी र २०७९ मा एआईजी पदमा बढुवा पाउँदै आएका छन्।
एआईजीमा उनी ६ जेठ २०७९ मा बढुवा भएका थिए, जुन पद रिक्त भएपछि उनलाई जिम्मेवारी दिइएको थियो। दोस्रो दाबेदार दाहाल भने करिब पाँच महिनापछि मात्र एआईजी बनेका थिए भने ठाडा मगर अझै करिब दुई वर्ष जुनियर मानिन्छन्।
विद्यमान नियमअनुसार पौडेलले ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १८ गतेसम्म आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्।
तपाईको प्रतिक्रिया