विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आज देखि सुरु
उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिता जुलाई १९ सम्म सञ्चालन हुनेछ। विश्वकपको यो २३औँ संस्करण इतिहासकै सबैभन्दा ठूलो हुने भएको छ, जसमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदैछन्। यसअघि विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए।
तीन देशले संयुक्त रूपमा आयोजना गरेको यो पहिलो विश्वकप हो। अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी १६ सहरमा खेलहरू आयोजना हुनेछन्। आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिको स्वतः विश्वकपमा छनोट भएका छन् भने केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेल्दै इतिहास रचेका छन्।
साविक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ। ब्राजिल, फ्रान्स, जर्मनी, स्पेन, इङ्ग्ल्यान्ड र पोर्चुगललाई पनि उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ। विश्वभरका करोडौँ फुटबल समर्थकको ध्यान अहिले विश्वकपतर्फ केन्द्रित भएको छ।
विश्वकप सुरु हुनुअघि अमेरिकी भिसा तथा अध्यागमन नीति, इरानको सहभागिता तथा टिकट मूल्य निर्धारणलाई लिएर केही विवादहरू देखिए पनि प्रतियोगिताको रौनकमा त्यसको खास प्रभाव नपरेको विश्लेषण गरिएको छ। आजको उद्घाटन खेलसँगै विश्व फुटबलको महाउत्सव औपचारिक रूपमा प्रारम्भ हुने भएको छ।
तपाईको प्रतिक्रिया