विश्वकप उद्घाटन समारोहमा साकिरा, क्याटी पेरी र नोरा फतेही विशेष आकर्षण
काठमाडौँ । विश्व फुटबल इतिहासमै पहिलोपटक तीन राष्ट्र—अमेरिका, क्यानडा र मेक्सिको—मा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकपले नयाँ अध्याय सुरु गर्दैछ। ४८ राष्ट्र सहभागी रहेको यस संस्करणको उद्घाटन केवल फुटबलमा सीमित नभई संगीत, मनोरञ्जन र सांस्कृतिक विविधताको भव्य उत्सवका रूपमा प्रस्तुत हुने भएको छ।
फिफाले तीन फरक देशमा आयोजना गर्न लागेको उद्घाटन समारोहका लागि विश्वप्रसिद्ध कलाकारहरूको सहभागिता सुनिश्चित गरेको छ। मेक्सिकोमा हुने पहिलो समारोहमा ‘वाका वाका’बाट चर्चित गायिका साकिरा मुख्य आकर्षण रहनेछिन्।
बिहीबार राति मेक्सिको सिटीस्थित प्रतिष्ठित एज्टेका रङ्गशालामा हुने समारोहमा साकिरासँगै जे बाल्विन, रयान कास्त्रो तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन्। हलिउड अभिनेत्री सलमा हायेक पिनाउल्टले आयोजक राष्ट्रको तर्फबाट विश्वभरका समर्थकलाई स्वागत गर्दै फुटबलमार्फत एकताको सन्देश दिने कार्यक्रम छ।
यता अमेरिकाको लस एन्जलसमा शुक्रबार बिहान आयोजना हुने ९० मिनेट लामो समारोहमा क्याटी पेरी, अनित्ता, लिसा, रेमा र टाइला जस्ता अन्तर्राष्ट्रिय कलाकारहरू मञ्चमा उत्रिनेछन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार अमेरिकी समारोहले सांस्कृतिक विविधता, आप्रवासी समुदायको योगदान र संगीतको विश्वव्यापी प्रभावलाई उजागर गर्नेछ।
क्यानडामा नोरा फतेहीको विशेष प्रस्तुति
सह-आयोजक राष्ट्र क्यानडामा हुने उद्घाटन समारोहको मुख्य आकर्षण बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही रहनेछिन्। कतार विश्वकपको आधिकारिक एन्थममा समेत देखिएकी नोराले यसपटक क्यानडाको मञ्चमा आफ्नो नृत्यकला प्रस्तुत गर्नेछिन्।
उनका साथै अलानिस मोरिसेट, एलेस्सिया कारा, माइकल बबल र विलियम प्रिन्सले पनि प्रस्तुति दिँदै समारोहलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने
उद्घाटन समारोहको रौनकपछि मैदानमा भने पहिलो प्रतिस्पर्धा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। मेक्सिको सिटीमा हुने खेलअघि अलेजान्द्रो फर्नान्डिजले मेक्सिकोको तथा टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान प्रस्तुत गर्ने कार्यक्रम छ।
समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरिया भिड्नेछन्। दक्षिण कोरियाली टोलीको नेतृत्व स्टार खेलाडी सन ह्युङ मिनले गर्नेछन्, जो हाल अमेरिकी मेजर लिगमा आबद्ध छन्।
तीन देश, ४८ टोली र विश्वभरका सांगीतिक हस्तीहरूको सहभागितासँगै यसपटकको विश्वकप खेलकुद मात्र होइन, विश्व संस्कृति र मनोरञ्जनको पनि महाउत्सव बन्ने संकेत देखिएको छ।
तपाईको प्रतिक्रिया