आइतबार २४ जेठ २०८३
खेलकुद

१९ वर्षीया मिर्रा एन्ड्रीभाको ऐतिहासिक सफलता, फ्रेन्च ओपन च्याम्पियन

आइतबार जेठ २४, २०८३/ Sunday 06-07-26

काठमाडौं । रुसी खेलाडी मिर्रा एन्ड्रीभा ले फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छन्।

शनिबार पेरिसस्थित क्ले कोर्टमा भएको फाइनल खेलमा १९ वर्षीया एन्ड्रीभाले पोल्यान्डकी माजा ख्वालिन्स्का लाई पराजित गर्दै आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि चुमेकी हुन्।

१५ वर्षकै उमेरमा व्यावसायिक टेनिसमा तहल्का मच्चाएकी एन्ड्रीभाले उपाधि भिडन्तमा ११४औँ वरीयताकी क्वालिफायर ख्वालिन्स्कालाई ६–३, ६–२ को सोझो सेटमा सहजै पाखा लगाइन्।

उपाधि जितेपछि खुसीयाली मनाउने क्रममा भावुक बनेकी एन्ड्रीभाले मानसिक दबाब र आन्तरिक संघर्षलाई जित्नु नै आफ्नो सबैभन्दा ठूलो सफलता भएको बताइन्।

‘मैले यो क्षणको लागि धेरै अघिदेखि सपना देखेकी थिएँ र यसबारे धेरै कल्पनाहरू गरेकी थिएँ,’ खेलपछि प्रतिक्रिया दिँदै एन्ड्रीभाले भनिन्, ‘तर वास्तविक जीवनको यो अनुभूति सपनामा सोचेको भन्दा कैयौँ गुणा बढी सुखद र सुन्दर छ।’

यसअघि सन् २०२४ को फ्रेन्च ओपनमा सेमिफाइनलसम्म पुगेकी एन्ड्रीभाको खेल जीवनमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धि हो।

 

तपाईको प्रतिक्रिया