काठमाडौँ । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले घरेलु टोली रुवान्डाविरुद्ध १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन जोड्यो । कप्तान इन्दु बर्माले ३३ रन बनाउँदा कविता कुँवरले २४ रनको योगदान दिइन् । रुवान्डाकी हेनरिएट इशिम्वेले ३ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो छैटौँ खेल हो । नेपालले यसअघि इटाली र रुवान्डालाई हराएको थियो भने अमेरिका (दुई खेल) र भानुआतुसँग पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा पहिलो पटक भइरहेको यस प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।
अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ भने प्रतियोगिता आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया