शनिबार १९ बैशाख २०८३
खेलकुद

यूएईलाई नेपालले दियो २९० रनको लक्ष्य

शुक्रबार बैशाख १८, २०८३/ Friday 05-01-26

 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स विरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनायो।

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा १३ चौका र एक छक्कासहित १०० रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो। उनले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो शतक प्रहार गरेका थिए।

दीपेन्द्रले गुल्सन झासँग छैटौँ विकेटका लागि १०२ रनको महत्वपूर्ण साझेदारी गरे। गुल्सनले ४४ रन बनाए।

ओपनर विनोद भण्डारीले ५६ रनको योगदान दिए। उनले ७९ बलमा सात चौका प्रहार गर्दै कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे। रोहितले ३९ रन जोडे।

अन्य खेलाडीहरूमा आरिफ शेख र अर्जुन कुमालले समान ११–११ रन बनाए।

संयुक्त अरब इमिरेट्सका बलरहरूमा जुनैद सिद्दिकी र अयान अफजल खानले समान दुई–दुई विकेट लिए भने हैदर अली र खुजैमा तन्विरले एक–एक विकेट लिए।

नेपाल यस खेलमा जित निकाल्दै प्रतियोगितामा सातौँ जित हासिल गर्ने लक्ष्यमा छ। २२ खेल खेलेको नेपालले हालसम्म ६ जित, १४ हार र दुई खेल रद्द हुँदै १४ अंक जोडेको छ र तालिकाको सातौँ स्थानमा रहेको छ।

त्यस्तै, संयुक्त अरब इमिरेट्स पनि सातौँ जितको खोजीमा रहेको छ। २२ खेलबाट ६ जित र १६ हारसहित १२ अंक जोडेको यो टोली तालिकाको पुछारमा छ। यसअघि दुवै टोलीबीच भएको खेलमा नेपाल ३५ रनले विजयी भएको थियो।

तपाईको प्रतिक्रिया