देशभर आज आंशिकदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं। देशका विभिन्न क्षेत्रमा आज मौसम बदली भई हावाहुरी, असिना, मेघगर्जन तथा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
उक्त प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र मधेस, लुम्बिनी तथा सुदूरपश्चिमका तराईका थोरै स्थानमा चट्याङसहित हावाहुरी, असिना र मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा समेत मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म देशभर वर्षा हुने क्रम जारी रहने देखिएको छ। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ भने तत्काल मौसम खुल्ने संकेत देखिएको छैन।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया