आज देशभर बदली, चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं। आज दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रका अधिकांश स्थानमा आंशिक बदली रहने अपेक्षा गरिएको छ।
आज दिउँसो हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै मौसमको सम्भावना रहेको छ।
राति देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
विशेषगरी लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
तपाईको प्रतिक्रिया