एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नवीकरण नगरे स्वतः जिम्मेवारी मुक्त हुने
काठमाडौँ । नेकपा (एमाले) ले आफ्नो सदस्यता व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ। आइतबार केन्द्रीय कार्यालयमा आयोजित सदस्यता व्यवस्थापनसम्बन्धी डेमो बैठकमा यस विषयमा विस्तृत छलफल भएको नेताहरूले जानकारी दिएका छन्।
बैठकमा उपाध्यक्ष, महासचिव, प्रदेशस्तरीय नेतृत्व र जनसंगठनका प्रतिनिधिहरू सहभागी थिए। संगठन विभागले प्रस्तुत गरेको प्रणाली र यसको कार्यान्वयन ढाँचाबारे सहभागीबीच गहिरो छलफल गरिएको थियो।
प्रस्ताव अनुसार अब सदस्यता नवीकरण, नयाँ सदस्य भर्ना तथा अभिलेख व्यवस्थापन सबै अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ। यसले पार्टीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलले डिजिटल सदस्यता प्रणाली पार्टी जीवनलाई सुदृढ बनाउने महत्वपूर्ण पहल भएको बताए। त्यस्तै, संगठन विभागका संयोजक तथा केन्द्रीय सचिव भानुभक्त ढकालले केन्द्रदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण आवश्यक रहेको उल्लेख गरे।
नयाँ प्रणाली सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै स्थानीय तहमा एकैपटक लागू गर्ने तयारी भइरहेको छ। साथै, प्रत्येक पालिकामा भौतिक रूपमा सहजीकरण गर्दै सदस्यता नवीकरणलाई पार्टीका गतिविधिसँग जोड्ने योजना पनि अघि सारिएको छ।
अनलाइन प्रणालीमार्फत पार्टीका नेताहरूको बायोडाटा संकलन गरी केन्द्रीयदेखि वडा तहसम्म अभिलेख राखिनेछ। यसअघि संगठन विभागको बैठकले जेठ मसान्तसम्म सदस्यता नवीकरण गर्ने समयसीमा प्रस्ताव गरेको थियो।
ढकालका अनुसार निर्धारित समयभित्र नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ।
तपाईको प्रतिक्रिया