बिहीबार २४ बैशाख २०८३
मनोरन्जन

फिल्म 'लालीबजार'लाई प्रदर्शनको लागि बाटो खुला

बुधबार बैशाख २३, २०८३/ Wednesday 05-06-26

काठमाडौं ।  उच्च अदालत पाटनले ‘लालीबजार’ चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ।

न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले दुवै पक्षको बहस सुनेपछि अन्तरिम आदेश कायम नराख्ने आदेश दिएको हो। यसअघि न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको पछिल्लो निर्णयसँगै चलचित्रको प्रदर्शनमा देखिएको कानुनी अवरोध हटेको छ। निर्माण पक्षले अब चलचित्र वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको छ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन्। यम थापाको निर्देशनमा बनेको यो फिल्म १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा थियो।

षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र वादी समुदायका महिलाको संघर्ष र जीवनकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।

यसअघि अदालतले कुनै पनि चलचित्रले कुनै समुदायको मान–मर्यादा, इज्जत, प्रतिष्ठा वा आत्मसम्मानमा आँच पुग्ने तथा साम्प्रदायिक वैमनस्य फैलाउने सामग्री प्रसारण गर्न नहुने भन्दै संविधान र कानुनअनुसार कार्य गर्न निर्देशन दिएको थियो। सोही आधारमा ‘लालीबजार’ सम्बन्धी मुद्दामा पनि प्रारम्भिक रूपमा अल्पकालीन आदेश जारी गरिएको थियो।

तपाईको प्रतिक्रिया