नागोया (जापान) । जापानको नागोयामा २०औँ एसियाली खेलकुद औपचारिक रूपमा सुरु भएको छ। नागोयास्थित मिजुहो रंगशालामा जापानका सम्राट नारिहितोले प्रतियोगिताको उद्घाटन गरेका हुन्। केही खेल भने उद्घाटन समारोहअघि नै बुधबारदेखि सञ्चालनमा आइसकेका थिए।
उद्घाटन समारोहमा जापानका पूर्व खेलाडी फुजिनामी आकरी, किताजिमा तेसितु, इतो कोजु, ताकाहासी आयेका र मुरोफुसी कोजीले ओलम्पिक फ्लेम प्रज्वलन गरे।
समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि दुईपटक एसियाली खेलकुद आयोजना गरिसकेको र कोभिड–१९ का कारण एक वर्ष पछि सरेको २०२१ को ओलम्पिकसमेत सफलतापूर्वक आयोजना गरेको स्मरण गरे। उनले नागोया एसियाड पनि भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
जापानले यसअघि सन् १९५८ मा टोकियो र १९९६ मा हिरोसिमामा एसियाली खेलकुद आयोजना गरेको थियो। यस्तै, २०२१ मा आयोजना भएको टोकियो ओलम्पिक पनि जापानमै सम्पन्न भएको थियो।
यसपटकको एसियाली खेलकुदमा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन्, जसमा १५ हजार खेलाडी रहनेछन्। नेपालबाट भने ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन्।
उद्घाटन समारोहको मार्च पासमा नेपाली टोलीको नेतृत्व बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले गरे। उनीहरूले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए। थापाले गत वर्ष यूएईको दुबईमा आयोजित विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए। यस्तै, मानमतीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले सन् २०२३ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कांस्य पदक हासिल गरेको थियो।
मार्च पासमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा सेफ द मिसन विशाल श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा डेपुटी सेफ द मिसन टासी घलेसहित ४० नेपाली खेलाडी तथा अफिसियल सहभागी थिए।
नागोया एसियाडमा ४५ देश र एक शरणार्थी टोलीले सहभागिता जनाउँदैछन्। उनीहरूले ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका खेलहरू विभिन्न ५४ स्थानमा सञ्चालन हुनेछन्।
जापानले यसपटक ९०० भन्दा बढी खेलाडी सहभागी गराउँदैछ। चीनबाट ८०० भन्दा बढी तथा दक्षिण कोरियाबाट करिब ८०० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
तपाईको प्रतिक्रिया